न्युजिल्यान्ड जान लागेको सुनेपछि धेरै नेपालीहरूले मलाई 'हो!, आहा! भने। न्युजिल्यान्डमा पनि म नेपालबाट आएको भन्नासाथ सबैले त्यसै गरे। के कारण होला त, नेपाल र न्युजिल्यान्डबीच यस्तो आत्मीयता र एकअर्कालाई हेर्ने यति राम्रो दृष्टिकोण! 
पहिलो जस एडमन्ड हिलारीलाई जान्छ। थोरै नेपाली होलान् जसले हिलारीको नाम नसुनेका होउन्। उता न्युजिल्यान्डमा पनि तेन्जिङ नोर्गेको नाम नसुन्ने कोही भेटिँदैनन्। अर्को कुरा, दुवै देशको नाम न बाट शुरु भएकाले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि हामी सँगसँगै बसेका हुन्छौं। नेपाल भूपरिवेष्टित छ, न्युजिल्यान्ड टापु। तर, दुवै देश प्राकृतिक सौन्दर्य र जैविक विविधताका भण्डार छन्। नेपालको प्राकृतिक संरक्षणमा न्युजिल्यान्डले जति सहयोग अरू देशले गरेका छैनन्। यो सहयोगको इतिहास सन् १९५३ मा हिलारी र तेन्जिङले सगरमाथा चढेपछि शुरु भएको हो।
सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना गर्न न्युजिल्यान्डका वैज्ञानिक, भूगोलविद् र समाजशास्त्रीहरूले पहिलेदेखि पहल गरेका थिए। ठूला
छिमेकी अथवा अन्य राष्ट्रले नेपाललाई सहयोग गर्दा भूराजनीतिक, सामरिक वा व्यापारिक दृष्टिकोणलाई प्राथमिकता देलान्, तर न्युजिल्यान्डलाई त्यस्तो लिनु केही छैन। नेपाललाई सहयोग गरेर उसले पाउनेवाला पनि छैन, साँच्चिकै साथीले मद्दत गरे जस्तै हो।
क्राइस्ट चर्चको लिन्कन युनिभर्सिटीमा धेरै वर्ष जीव-विज्ञानका प्रोफेसर रहेका प्याट डेभ्लिन नेपालीहरूका एक त्यस्तै मित्र हुन्। उनलाई अनगिन्ती नेपाली विद्यार्थीले आदरपूर्वक प्याट गुरु भन्छन्। १९७० यता उनले मिङमा नोर्बु, आङरिता, लाक्पा नोर्बु, रामप्रित यादवलगायत दर्जनौं नेपालीलाई ज्ञान र अनुभव दिएर वातावरण संरक्षणका विज्ञ बनाएका छन्। २००७ को घुन्सा हेलिकप्टर दुर्घटनामा मारिएका २४ जनामध्ये प्याट डेभ्लिनका विद्यार्थी मिङमा नोर्बु पनि परे। मिङमाको नाममा स्थापित छात्रवृत्तिमा हरेक वर्ष दुई जना नेपाली विद्यार्थी लिन्कन आउँछन्, संरक्षण विज्ञान पढ्न। घुन्सा दुर्घटनामा परेका अर्का नेपाली संरक्षणविद् चन्द्र गुरुङ प्याटका मिल्ने साथी थिए। अन्नपूर्ण संरक्षण क्षेत्रको परिकल्पना उनीहरूले सँगसँगै गरेका थिए जुन अहिले एक्याप को नामले संसारभरि इको-टुरिजमको नमुना बनेको छ।
लिन्कनमा पर्यटन र वातावरण पढाउने प्रोफेसर डेभिड सिमोन्स अहिले प्याट गुरुको ठाउँमा नेपाली विद्यार्थीहरूलाई पढाउँछन्। नेपालीहरूले प्याटलाई गरेको श्रद्धा र प्याटले नेपालीहरूलाई गर्ने माया एकदमै अद्भुत रहेको उनको अनुभव छ। नेपाली भनेपछि मरिमेट्ने प्याट गुरुले हामीलाई गाइड र ड्राईभर बनेर एक दिन परको आकारोवा भन्ने ठाउँ देखाउन लगे। पीएचडीका लागि लिन्कन पुगेका मुस्ताङ टुकुचेका शैलेन्द्र थकाली (हे. तस्बिर) पनि साथमा थिए। उनले पनि प्याट गुरु जस्तो नेपाल र नेपालीलाई माया गर्ने अर्को मान्छे नदेखेको बताए।
१७ पटक नेपाल आइसकेका र अझ्ै नेपाल आउने धोको राखेका ७५ वर्षका प्याटलाई मैले नेपालमा सबैभन्दा सुन्दर ठाउँ कुन हो भनेर सोध्दा आकारोवाको समुद्र र पहाड हेर्दै उनले भने, “माछापुच्छ्रे मुनिबाट अन्नपूर्ण आधार शिविर जाने बाटो। संसारमा यो भेक जस्तो गजबको प्राकृतिक सम्पदा र सौन्दर्य भएको ठाउँ कमै होलान्।”
प्याट डेभ्लिन र डेभिड सिमोन्स नेपाली वातावरण विशेषज्ञहरूलाई संसारकै सबैभन्दा अनुभवी ठान्छन्। सरकारी तवरबाट अलि बढी प्राथमिकता र राजनीतिक इच्छाशक्ति भइदिए नेपालको वातावरण संरक्षण र पर्यटनलाई सँगसँगै विकास गरेर देशको अर्थतन्त्रलाई उँभो लगाउन गाह्रो छैन। यसबाट रोजगारी सिर्जना हुन्छ र मुलुकमा दिगो समृद्धि आउँछ। डेभिड सिमोन्स वातावरण संरक्षणमा नेपालले २० वर्ष अगाडि कमाएको ख्याति फर्कन गाह्रो नहुने बताउँछन्।
प्याट गुरु अहिले रिटायर्ड भए पनि शैलेन्द्र जस्ता नेपाली विद्यार्थीहरूलाई अझ्ै गाइड गरिरहेका छन्। अरूलाई भन्दा नेपाली विद्यार्थीलाई पाँच गुणा बढी मिहिनेत गरेर पढाउने गरेकोमा कहिलेकाहीँ उनी आफैँ आश्चर्य मान्छन्। उनले यसो गर्नुको कारण नेपालप्रतिको माया नै हो। आफ्ना विद्यार्थीले नेपालमा गरेको योगदानप्रति प्याट सन्तुष्ट छन्। तैपनि उनी भन्छन्, “मलाई मेरा विद्यार्थीहरू नेपाल फर्केर आफ्नै देशका लागि काम नगर्लान् कि भन्ने पीर चाहिँ लाग्छ।”
