भूकम्पीय जोखिम सामना गर्न संसारमै सबैभन्दा सक्षम जापानमा भूकम्पबाट भएको क्षति ईंट र कङ्क्रिटबाट बनेका घरले ढाकिएको काठमाडौं उपत्यका तथा नेपालका अन्य शहरका लागि गतिलो पाठ हो।

भूकम्पीय प्रकोप, सुनामी र ज्वालामुखीको जोखिमबाट संसारमै सबैभन्दा बढी ग्रसित मुलुक जापान त्यो जोखिम सामना गर्न सबैभन्दा सक्षम देश पनि हो। त्यहाँ स्कूले विद्यार्थीहरूलाई सानैदेखि टेबुलमुनि लुक्ने, भुईंचालो जानेवित्तिकै समुन्द्रको सतहबाट सकेसम्म माथि गएर बस्ने र प्राथमिक उपचार गर्ने तालिम जनस्तरमै दिइएको हुन्छ। जापान सरकारका आपतकालीन निकायहरू प्रकोपका निम्ति हरघडी तम्तयार हुन्छन्। र, जापानमा जस्ता भूकम्पविद् र भू-गर्भशास्त्रका अनुसन्धान अरू कुनै मुलुकमा हुँदैनन्। सन् १९८० को जापानको भौतिक निर्माण मापदण्डको संसारका अरू धेरै देशले समेत् अनुकरण गरेका छन्।

तर त्यस्तो तयारी हुँदाहुँदै पनि जापानमा त्यति ठूलो क्षति हुनु र यति धेरैको ज्यान जानु नेपालका लागि ठूलो पाठ हुनुपर्छ। काठमाडौं र अरू शहरमा बनेका ईंटा र कङ्क्रिटका घरहरू धेरैजसो भूकम्पीय हिसाबले सुरक्षित मापदण्ड विपरित छन्। जापानमा गएको स्तरको भुईंचालो काठमाडौं उपत्यकामा गयो भने भत्केका घरले किचिएर मात्रै एकलाख बासिन्दाको तुरुन्तै मृत्यु हुनेछ, अरू दुई लाख घाइते र १५ लाख घरबारविहीन हुनेछन्। काठमाडौंका धेरैजसो अस्पताल पनि भत्कने हुनाले घाइतेलाई उपचार गर्न समेत् गाह्रो हुनेछ। विमानस्थल, काठमाडौं जोड्ने राजमार्ग र पुलहरूमा पनि क्षति हुने हुनाले राहत सामग्री ल्याउन कठिन हुनेछ।

२७ फागुन २०६७ मा गएको ८.९ रिक्टरस्केलको महाभूकम्पपछि उत्तरी जापानको शहर नाटोरी सिटीमा आएको सुनामीले बगाएका घरहरू ।

गत महिना नेपालमा कार्यरत दातृ संस्था र कूटनीतिक नियोगहरूले मिलेर प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी दुईदिने सम्मेलन आयोजना गरे। संयुक्त राष्ट्रसंघ र अमेरिकी दूतावासको पहलमा भएको सो सम्मेलनले नेपालमा भविष्यमा जानसक्ने भूकम्पको तयारीको लेखाजोखा गर्‍यो। त्यसमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रवर्ट पाइपरले भनेका थिए, “यो समस्या नेपाल र संयुक्त राष्ट्रसंघको बुताभन्दा ठूलो छ। त्यसैले अन्तर्राष्ट्रिय समुदाय र नेपाल सरकार मिलेर तयारीमा जुट्नुपर्छ।”

सम्मेलनका सहभागीमा न्युजिल्याण्डको क्राइस्टचर्च शहरका मेयर बब पार्कर पनि थिए। आफ्नो भाषणमा पार्करले काठमाडौं उपत्यकाले भोग्नुपर्ने क्षति अकल्पनीय हुने बताए। पार्कर काठमाडौंबाट क्राइस्टचर्च फर्केको भोलिपल्टै उनको शहरमा गएको ७.२ रिक्टरको भूकम्पबाट २०० जनाको ज्यान गयो। त्यसको ठीक एक महिनापछि जापानमा शुक्रबारको भूकम्प गएको हो।

न्युजिल्याण्ड र जापान दुवै विकसित देश हुन्। दुवै देशमा पर्याप्त स्रोत-साधन र भूकम्पबारे जनतामा चेतना छ। भवनहरू मापदण्ड अनुसार बनाउनैपर्छ। भूकम्प गएपछिका लागि पनि दुवै देशमा आपतकालीन निकायहरू तुरुन्तातुरुन्तै तैनाथ हुन्छन्। नेपालमा अहिलेसम्म यी केही छैनन्। अलि-अलि चेतना फैलिन थालेको छ। दातृनिकायको सहयोगमा आपतकालीन केन्द्र खुलेको छ, गृहमन्त्रालयमा। तर हामीकहाँ न भवन निर्माणको मापदण्ड पालना भएको छ, न भूकम्प आएपछि गर्नुपर्ने कामको योजना बनेको छ।

काठमाडौं सम्मेलनपछि यसै महिना अमेरिकी सरकारको पहलमा नेपालको भूकम्पीय जोखिमको तयारीका लागि अर्को ठूलो सम्मेलन वासिङटनमा हुँदैछ। बेलायत सरकारले नेपालको प्रकोप जोखिम न्यूनीकरण समूहलाई गत हप्ता रु.२ अर्बको अनुदान घोषणा गर्‍यो। यो रकम धेरैजसो अस्पताल भवनहरूलाई बलियो बनाउन खर्च हुनेछ। वासिङटनमा अरू दातृ संस्था र देशहरूले पनि अनुदान घोषणा गर्ने आशा गरिएको छ।

प्रकोप तयारीको पहिलो चरणलाई मात्रै रु.९ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ, जसमध्ये धेरैजसो रकम स्कूल र अस्पतालहरूको रिट्रोफिटिङमा खर्च हुनेछ। वैज्ञानिकहरूको अनुमान अनुसार स्कूल चलेको वेलामा भुईंचालो आएमा काठमाडौं उपत्यकामा भत्किने ७५ प्रतिशत स्कूल भवनबाट ५० हजार विद्यार्थी र शिक्षकको ज्यान जानेछ। रिट्रोफिटिङ गरेपछि एक हदसम्म भूकम्पले हल्लाउँदा पनि स्कूलको भवन पूरै ध्वस्त हुँदैन र धेरैको ज्यान बच्न सक्छ।

व्यक्तिगत र सामुदायिक तयारीको पनि ठूलो खाँचो देखिन्छ। अबदेखि घर बनाउँदा भवन संहिता ख्याल राखेर बनाउन जरुरी हुन्छ। बनिसकेको घर पनि एकपटक विशेषज्ञहरूलाई निरीक्षण गराएर रिट्रोफिटिङ डिजाइन गर्न सकिन्छ। उपभोक्ता संघसंस्थाहरूले पनि निर्माण सामग्रीको गुणस्तरको अनुगमन गर्न जरुरी छ। मापदण्डअनुरुपका घर बने पनि कम गुणस्तरका सिमेन्ट र छड प्रयोग भएमा भूकम्पमा भत्कन सक्छन्।

जापानमा गएको भुईंचालोमा धेरै घरहरू भत्केनन् र घरै भत्केर धेरै मानिसको ज्यान गएन। भूकम्पले समुन्द्रबाट १० मिटर माथिसम्म फालेको छाल (सुनामी)ले बगाएर धेरै जनधनको क्षति भएको हो। भूकम्पपछि खिचिएका भिडियोमा सुनामीको छालमा सग्लासग्लै घरहरू बगेका देखिन्छन्। भूकम्पबाट आणविक ऊर्जा भट्टीहरूमा समेत् क्षति पुगेकाले न्यूक्लियर इमर्जेन्सीको पनि घोषणा गरिएको छ।

नेपालमा जापानको जस्तो सुनामीको जोखिम छैन र आणविक भट्टीहरू पनि छैनन्। तर कमजोर र सानो भूकम्पमा पनि भत्कन सक्ने भवन र संरचनाहरू प्रशस्त छन्। समुन्द्री सुनामीको जोखिम नभए पनि भूकम्पको कारण पहिरोले गाउँहरू पुरिन सक्छन्। जलवायु परिवर्तनले फुलेका हिमतालहरू फुट्न सक्छन् र हिमालयन सुनामीको बाढीले ठूलो क्षति ल्याउन सक्छ।

जापान र न्युजिल्यान्डमा एक महिनाभित्र गएका महाभूकम्पले नेपालका नेताहरूलाई घचघच्याउनुपर्ने हो। भनिन्छ; निदाएको मानिसलाई उठाउन सकिन्छ, तर निदाए जस्तो गर्नेलाई बिउँझ्ाउन सकिँदैन। तैपनि; वडा र समुदायदेखि पारिवारिक र व्यक्तिगत तहसम्म अहिल्यै तयारीमा लागिहाल्नु बुद्धिमानी हुनेछ।

रिट्रोफिटिङ सम्बन्धी जानकारीको लागिः

भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल

फोनः ०१-५५९१०००

nset@nset.org.np

www.nset.org.n