हाम्रा नेताहरुमा अरुले के भन्ला भनेर अलिकति पनि लाज भएको भए नेपाल कहाँ पुगिसक्थ्यो। तर शासकहरू लोभी परे।

छैटौं संसदीय निर्वाचन पनि सकियो। फेरि निष्कर्ष विहीन। देशभरि देखिएको निराशा अब हाँसोमा परिणत हुन थालेको छ। नेताहरुले आफ्नै व्यङ्ग्य गरिरहेका छन्।

कुनै पनि देश अगाडि बढ्नका लागि, मुलुकले फड्को मार्न, जनतामा लगनशीलता चाहिन्छ,  इमान्दारीको खाँचो पर्छ। तर देश विकासका लागि एउटा अर्का कुरो पनि नभइनहुने रहेछ। नेताहरुमा लाज मान्ने शक्ति हुनु पर्दोरहेछ। अरुले के भन्लान्, विदेशीहरू माझ हाम्रो बेइज्जत भएको छ कि, भनेर वास्ता नै नभएका नकचरा राजनीतिज्ञ भयो भने देश अगाडि बढ्दो रहेनछ।

जापानले दोस्रो विश्वयुद्धपछि यत्रो ठूलो विकास कसरी गर्‍यो? उनीहरु अरु देशका नागरिकले के भन्लान् भनेर ठूलो ख्याल राख्छन्। हामीलाई “फोहोरी, अल्छी, गरीब” भन्छन् कि भनेर जापानीहरु बडो चिन्तित हुन्छन्। र, जापानले आफ्नो संस्कृति र राष्ट्र पहिचानलाई शिक्षा प्रणालीमा नै राखेर राष्ट्रिय लक्ष्यको रुपमा हरेक नागरिकलाई यी कुरा पढाएका हुन्छन्। कोरिया र चीनमा पनि यस्तै खालको राष्ट्र स्वभाव र संस्कृतिको विकास भइसकेको छ।

हामीकहाँ ठीक उल्टो छ। हामीलाई अरुले के भन्लान् भनेर चिन्ता नै छैन। हेर्नुस् त, अहिले राजधानीमा फोहोर थुप्रेको, र त्यत्तिकै फोहोरी राजनीतिको उदाहरण। अरुले के भन्लान् भनेर हामीलाई वास्ता नै छैन। प्रधानमन्त्री चुन्न नसकेकोमा देश विकास ठप्प छ, बजेट छैन, र संसारभरी हाम्रो बेइज्जत भएको हामीलाई न थाहा छ, न त मतलब।

तर, अरुले हेप्यो, भारतीयहरुले हस्तक्षेप गरे भनेर चिच्याउँछौं। हाम्रो खोक्रो राष्ट्रियतामा आड लिन्छौं। फिटिक्क केही भयो भने, भारतीय दूतवासले एउटा वक्तव्य निकाल्यो भने हामीमा 'ठुल्दाइले कुट्यो' भनेर रुने बानी छ। अब पिन्चे भएर बस्ने होइन, खुरुखुरु देश निर्माणतिर लाग्ने। धेरै समय भाषण, नारा, गफ गरेर खेर गैसक्यो। साँच्चिकै राष्ट्रवादी हौ भने हामी स्वाभिमानी हुनुपर्छ, आत्मनिर्भर हुनपर्छ, अरुको मुख ताकेर बस्नु हुँदैन। हामी आफैं एक ढिक्का भएर देशको भविष्य आफ्नै हातमा लिने क्षमता देखाऊँ, अनि अरुले हेप्न सक्दैनन्। र, हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्ने आँट गर्दैनन्।

“नेपाल एक सानो र गरीब मुलुक हो” भन्न हामीलाई बानी परिसक्यो किनभने हामीलाई सानैदेखि सिकाइएकै त्यही छ। तर नेपाल सानो देश हैन। ३ करोड जनसंख्या भएको संसारको ४० औं सबैभन्दा ठूलो मुलुक हो। नेपालीहरु गरीब भए पनि नेपाल गरीब देश हैन, खाली हाम्रो दिमाग र मन दरिद्र हो। हाम्रो राजनीतिमा एकताको खाँचो छ, देशको हितभन्दा हामी आफ्नो निजी अथवा दलगत हितलाई प्राथमिकता दिन्छौं। ४० लाख नेपालीहरु देशभित्र काम नपाएर विदेशिएका छन्। तीमध्ये आधा भारतमा काम गर्छन्। तर त्यही भारतलाई हामी चिडाएर बस्छौं। आफू काम दिन नसक्ने अनि अरुले हेप्यो र टेरपुच्छर लाएन भन्न मिल्छ? “म नेपाली हुँ” भनेर गर्व गर्न भारत विरोधी, चीन विरोधी, अथवा अमेरिका विरोधी हुनु पर्दैन। नेपाल र नेपालीको समर्थक भए पुग्छ।

अहिले संसदमा भएको निर्वाचन पनि एक किसिमले हेर्ने हो भने संसदको संख्याको नियम अनुसार नै चलेको छ। कमसेकम दलहरुले आफू आफूलाई मारकाट त गरेका छैनन्। हो निकास चाहिएको छ। नेताहरु कुर्सी तानातानमा व्यस्त छन् र देशको वास्ता गर्दैनन्। तर कमसेकम प्रक्रियाअनुसार, अन्तरिम संविधानका प्रावधान बमोजिम भएका छन् चुनावहरू। यसमा संसदीय प्रणालीलाई दोष दिनुभन्दा, हाम्रा नेताहरुमा दीर्घकालीन र राष्ट्रिय हितको सोच कहिले आउला भनेर सोध्नु उचित होला।

संसारको कुन नेताले शक्ति पूजा गर्दैन र! राजनीति भनेकै शक्तिको खेल हो। हेर्नुस् न अहिले अष्टे्लियामा ३ हप्ता भइसक्यो चुनाव भएको,  नयाँ गठबन्धन सरकार गठन हुन सकेको छैन। नेदरल्याण्डमा त तीन महिना बितिसक्यो सरकार बनाउन सकेका छैनन्।

नेपालमा फरक यति हो कि,  यहाँ सरकार नबन्दा सबै कुरा ठप्प हुन्छ। बजेट पास हुँदैन, विकास रोकिन्छ, अर्थतन्त्र धरासायी हुन्छ, लगानी कर्ता भाग्छन्। हाम्रो जस्तो वैदेशिक

रोजगारमा निर्भर देशमा सरकारले पासपोर्ट बनाउन नसकेर हाहाकार छ। अष्टे्लिया र नेदरल्याण्डमा आर्थिक स्थिरता कायम छ, राजनीतिक अन्यौल भएपनि।

हामीकहाँ पनि, झगडियाहरुलाई झगडा गर्न दिऊँ। तर विकासलाई विनास हुन नदिऊँ र सबैले आफ्नो आफ्नो क्षेत्रबाट राष्ट्रलाई बलियो बनाउने कोसिस गरौं।