PIC: TAKAAKI YAGISAWA

गोविन्द मैनालीलाई १२ वर्ष पहिले टोकियोको कारागारमा भेट्न जाँदा अदालतले भर्खरै एउटी जापानी महिलाको हत्याको आरोपमा जन्मकैदको फैसला सुनाएको थियो । गोविन्दले अलि त्रसित र मलिन अनुहार लिएर कुरा गरेका थिए । हामी दुवै नेपाली भए तापनि नेपालीमा बोल्न पाएका थिएनौं । सानो ऐनाको बीचबाट माइक्रोफोनमा दोभाषेमार्फत उनले जापानीमा र मैले नेपालीमा कुरा गरेका थियौं । उनलाई भन्नुपर्ने नेपालको हालखबर विशेष केही थिएन निर्दोष सावित गर्न प्रयास जारी राख्ने आश्वासन दिएर म निस्किएँ । तर भित्री मनमा मलाई गोविन्द निर्दोष भए तापनि अदालतको फैसला उल्टुउन सकिएला जस्तो लागेको थिएन ।

त्यसको चार वर्षपछि फेरि जापान जाने मौका मिल्यो र 'गोविन्दलाई न्याय' भन्ने अभियान समूहका जापानी संयोजकहरु अजुमा तोयोहिसा र जुन्को हासुमीसँगै योकोहामाको जेलमा गोविन्दलाई भेट्न गयौं । 'विन्दलाई न्याय'का जापानी र जापानमा बस्ने नेपाली स्वयंसेवकहरुले उनको मनोबल उकास्न जेलमा नियमित भेटघाट गर्ने नेपाली किताब र पत्रपत्रिका पुर् याइदिने आफैंले पैसा संकलन गर्दै गोविन्दका दाजु इन्द्र श्रीमती राधा आमा र छोरीहरुलाई झिकाएर समय-समयमा भेट गराउने गरेको रहेछ ।

सन् २००६ मा योकोहामामा भेट्दा गोविन्दको अनुहार पहिले भन्दा उज्यालो देखिन्थ्यो । आफूले नगरेको हत्याको अभियोगमा फसाइएको कुरामा उनी अडिग थिए तर बढी चिन्ता आमा र परिवारको बारेमा थियो । द्वन्द्वकालीन नेपालको गतिविधि त्यति आशलाग्दो नभएकाले मैले दोभाषेको माध्यमबाट नेपालका पत्रपत्रिकाहरु नियमित पठाइरहुँ कि पठाउन छाडिदिउ भनेर सोधेको थिएँ । गोविन्दले जवाफ दिएका थिए 'नेपालको माया लाग्छ र जस्तोसुकै निराशलाग्दो समाचार भए पनि पढ्न मन लाग्छ ।'

यता 'गोविन्दलाई न्याय' अभियानले जापानका वकिलहरुलाई परिचालन गरेर गोविन्द निर्दोष रहेको कुरा सावित गर्न प्रमाण जुटाउने काम गरिराखेको थियो । उनको मुद्दाको सुरुआतका बेला सन् १९९७ मा उपलब्ध नभएको डीएनए प्रविधिको प्रयोग गर्दा गत वर्ष हत्यामा गोविन्द नभएर अरु कुनै पुरुषको संलग्नता हुनसक्ने प्रमाण भेटियो । गएको महीना जापानी वकिल कात्सुहीको त्सुकुदाले अब गोविन्दलाई जेलमा राखिरहनुको कुनै तुक नभएको बताए । यही नयाँ प्रमाणलाई लिएर गत हप्ता टोकियो उच्चअदालतले गोविन्दको मुद्दा पुनरावलोकन गर्ने र हाललाई गोविन्दलाई रिहा गर्ने आदेश दियो । अब केही दिनमै गोविन्द आफ्नी बूढीआमालाई भेट्न परिवारसहित नेपाल फर्कंदै छन् ।

यो सुखद् र न्यायपूर्ण फैसलामा सबैभन्दा बढी जस 'गोविन्दलाई न्याय' अभियानका जुन्को अजुमा र राजन प्रधानाङ्ग जस्ता स्वयंसेवकलाई जान्छ । जुन्को हासुमीले मलाई भनेकी थिइन् 'हाम्रो अभियानका अधिकांश सदस्यहरु कहिल्यै नेपाल गएका छैनन् तर उनीहरु यो मुद्दामा किन लागे भने यो जापानको न्याय प्रणालीमा देखिएको विकृतिको ठूलो उदाहरण थियो ।' गोविन्द मैनालीको मुद्दाले जापानका पत्रपत्रिका टीभी र सामाजिक साजालमा नेपालमा भन्दा धेरै बढी प्राथमिकता पाएको छ ।

गत वर्ष राधा मैनालीले आफ्नो श्रीमान्लाई योकोहामामा भेटेपछि जापानी मिडियाकर्मीलाई भनेकी थिइन् 'गएका १५ वर्षमा मैले विधवा जस्तै जीवन बिताएँ हाम्रा छोरीहरु बाबु विना नै हुर्के । तर धेरै समयपछि म पहिलो पटक आशावादी भएकी छु ।' दुई-तीन वर्षपछि जापानमा गोविन्दको मुद्दाको पुनरावलोकन हुनेछ । त्यसमा उनी निर्दाेष ठहरिए भने जापान सरकारले गल्ती गरेर १५ वर्ष थुनामा राखेकोमा उनलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

गोविन्द मैनालीले त्यसबेला ३८ वर्षीया यासुको वातानाबेको टोकियोको शिबुया क्षेत्रको एउटा होटेलमा हत्या गरेको भनी लगाइएको आरोपलाई जापानका नामुद लेखक र पत्रकार शिनिची सानोले कहिल्यै पत्याएनन् र यो हत्याकाण्डको बारेमा जापान र नेपालमा धेरैसँग अन्तर्वार्ता लिएर एउटा खोजमूलक किताब नै लेखे । मैले सानोलाई सन् २००१ मा नारिता नजिकको एउटा शहरमा भेटेको थिएँ । गोविन्दको मुद्दालाई उनले जापानका अदालतहरुमा हुने अन्याय र निर्दाेषलाई दोषी देखाएर पुलिसले आफूलाई सफल देखाउने परम्पराको पराकाष्ठाको रुपमा लिएको बताए । उनले भने 'जापानमा हामीहरु आफ्नो समाजका विकृति अरुले देख्लान् भनेर लुकाउन खोज्छौं र यो हत्यामा एउटा गरीब देशको निर्दोष र निर्बल मानिसलाई अनाहकमा फसायौं ।'

Read also:

"Living like a widow", #574

Guilty until proven innocent, KUNDA DIXIT