बाटोले गर्दा भोजपुर, टक्सारकी लक्ष्मी श्रेष्ठको गोलभेडाले बजार पाएको छ। तर सिंचाईको अभावले गर्दा सुकेका बोटहरू देखाउँदै ।
सन् १९५० को दशकमा १० वर्ष लगाएर नेपालका कुनाकाप्चा घुमेकास्विट्जरल्याण्डका भूगर्भविद् टोनी हागनले मेचीदेखि महाकालीका चट्टानहरूको अध्ययन गरेर नेपालको भौगर्भिक नक्सा कोरे। दैलेखको अपर कर्णाली र कुलेखानी बाँधको बारेमा विस्तृत अनुसन्धान गरेर नेपाल जलस्रोतमा धनी देश भएको प्रतिवेदन तयार पारे।
सन् १९६४ मा प्रकाशित नेपाल भन्ने किताबमा हागनले लेखेका छन्, नेपालको जहाँ गए पनि त्यसबेला गाउँलेहरूलाई तपाईंहरूलाई केको सबैभन्दा बढी खाँचो छ भनेर सोध्दा अधिकांशले जवाफ दिन्थे― हामीलाई पुल चाहियो। ५० वर्षअघिको नेपालमा नदीनाला सबैभन्दा ठूलो अवरोध थिए। एउटा गाउँबाट अर्को गाउँ हिँडेर छिचोल्नुपर्ने र व्यापारको लागि होरदोहोर गर्नैपर्ने, तर गोरेटो बाटोमै पनि पुल नभएको कारणले दुई-तीन दिनको बाटो घुमेर जानुपर्ने बाध्यता थियो। यसले नेपालीहरूको जीवनलाई झ्नै कष्टकर बनाएको थियो।
हागनको प्रतिवेदन आएपछि स्वीस विकास सहयोगले नेपाली कम्पनीहरूलाई नेपालमै फलामे झ्लुङ्गे पुलको निर्माण गर्न सिकायो। अहिले नेपालभरि नै गोरेटो पुलहरू बनेका छन्।
सन् १९८० को दशकमा हागन फेरि नेपाल आए र २० वर्ष अगाडि गएका जिल्लाहरू घुमे। फेरि गाउँलेहरूलाई सोधे, अब केको खाँचो छ? उत्तर आयो, हामीलाई बाटोघाटो चाहिएको छ। बाटोको सुविधा नभएकै कारण नेपालको ग्रामीण भेग पिछडिएको थियो― चामल, नुन, तेल सब कुरा महँगो, बिरामीलाई अस्पताल पुर्याउन नसकेर मामुली रोगव्याध र घाउचोटबाट पनि मृत्यु हुने, शिक्षक, डाक्टर, सरकारी कर्मचारीहरू बाटोघाटो नभएकै कारण जिल्लामा बस्न नरुचाउने।
सन् १९९० को दशकमा प्रजातन्त्रको पुनर्बहाली, स्थानीय शासन र विकेन्द्रीकरणको लहर फैलिएपछि पुल र बाटो बन्ने अभियान नै चल्यो। अहिले दुर्गम जिल्लामा पनि बाटो पुग्न थालेका छन्। धेरै ठाउँमा बस चल्छ।
आठ वर्षअघि ८५ वर्षको उमेरमा टोनी हागनको निधन भयो। जिउँदै भएका भए गएको दशकमा नेपालमा ग्रामीण पूर्वाधारमा भएको विकास, मोबाइल फोनको विस्तार देखेर चकित हुन्थे होलान्।
चैतमा भोजपुर र गत महिना मुगु गएको बेला हागनले जस्तै मैले पनि स्थानीयवासीहरूलाई सोधेको थिएँ, तपाईंहरूलाई केको सबैभन्दा बढी खाँचो छ? धेरैजसोको जवाफ आयो, हामीलाई सिंचाईको सबैभन्दा खाँचो छ। खेतमा पानी पुर्याउनु पर्यो।
अहिलेको नेपालको जनसङ्ख्यालाई अन्न र तरकारीमा आत्मनिर्भर बनाउन खेतमा दुईदेखि तीन बाली लगाउन सक्ने हुनुपर्छ। यो गर्न सिंचाई अनिवार्य हुन्छ। भोजपुरका किसानलाई दातृ संस्थाले बनाइदिएको बाटोले गर्दा आफ्नो अन्न उत्पादन धरान, धनकुटा पुर्याउन त सजिलो भएको छ तर सुक्खा र खडेरीका कारण माग भएजति उत्पादन हुन सकिरहेको छैन।
मुगुबाट फर्केपछि एक कृषि विशेषज्ञसँग भेट भयो। उनी भन्दै थिए, “कर्णालीपारिका जिल्लामा खाद्यान्नको अभाव हुनै नपर्ने हो। मामुली सिंचाई योजनाले कमसेकम दुई बाली भित्र्याउन सकिन्छ। धेरै लगानी चाहिँदैन। सामुदायिक लघु जलविद्युत्बाट बिजुली उत्पादन गर्ने, राति बत्ती बाल्ने र दिउँसोभरि पम्पबाट मुगु कर्णालीको पानी उचालेर टारका खेतमा फ्याँक्ने।
भोजपुरको चरमेमा खुर्सानीको राम्रो व्यापार गर्छन्, मातृका अधिकारी। नयाँ बाटोले गर्दा उनको वार्षिक रु.१ लाख ५० हजारसम्मको अकबरे सुनसरीको टासी अचार उद्योगसम्म पुग्छ। अधिकारी र अरू किसानले मिलेर अकबरे सञ्जाल पनि खडा गरेका छन्। तर, सिंचाईको अभावले चाहिने जति तरकारी उत्पादन गर्न सकेका छैनन्। उनी भन्छन्, “सिंचाई भइदिए त हामी जे पनि गर्न सक्थ्यौं।
नेपालमा पुल र बाटो अभियान चल्यो, र धेरै बन्यो पनि। अब सिंचाईको अभियान चलाउन जरुरी छ।
