समाजमा परिवर्तन ल्याउन जनचेतना चाहिन्छ। त्यस्तो चेतना फैलाउन शिक्षा र सञ्चारमाध्यमहरूको ठूलो भूमिका हुन्छ। आफू पत्रकार भएकाले होला, मलाई चेतना जगाउन र फैल्याउनका लागि शिक्षाभन्दा सञ्चार शक्तिशाली छ जस्तो लाग्थ्यो। तर हिजोआज पत्रकारितामार्फत समाजलाई सजग बनाउन तुरुन्तातुरुन्तै सूचना प्रवाह गर्न सके पनि, त्यसले पाठक अथवा श्रोता वा दर्शकहरूमा साँच्चिकै ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरामा शङ्का लाग्न थालेको छ। बरु सञ्चारमाध्यमले त नागरिकहरूलाई झ्न् सङ्कुचित, नकारात्मक र आशाहीन पो बनाउने हुन् कि भन्ने लाग्न थालेको छ।
सञ्चारका उपभोक्ता प्रायः प्रौढ मानिसहरू हुन्, जो आफ्नो बानीव्यहोरा बदल्न निकै अन्कनाउँछन्। मानिसको बानीव्यहोरामा परिवर्तन ल्याउन 'ठीक' वा 'बेठीक' के हो भन्ने कुराको चेतना नै पहिलो आवश्यकता हुन्छ। चेतनाले मात्र पुग्दैन तर पहिलो पूर्वाधार भने चेतना नै हो। शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउन १५―२० वर्ष लाग्ला तर भविष्यको सचेत नागरिक निर्माण गर्न सञ्चारमाध्यमले भन्दा यसले धेरै प्रभावकारी भूमिका खेलेको हुन्छ। साँच्चिकै दीर्घकालीन समाज सुधारको लागि शिक्षा नै बढी प्रभावकारी हुन्छ भन्ने मेरो निष्कर्षको आधार आफ्नै अनुभव पनि हो।
एउटा व्यक्तिको शिक्षामा एउटा विद्यालय, एउटा शिक्षक अनि बाबुआमाको ठूलो भूमिका रहेको हुन्छ। मलाई प्राथमिकदेखि हाईस्कूल, कलेज र युनिभर्सिटीसम्म धेरै शिक्षकहरूले पढाए। तर अहिले ५६ वर्षको उमेरमा आएर हेर्दा एउटा गुरुले मेरो पूरै विचार प्रणाली, समाजलाई हेर्ने र सोच्ने तरिका नै निर्माण गरिदिए जस्तो लाग्छ।
हामी ६ कक्षामा गोदावरीको सेन्ट जेभियर्स स्कूलमा पढ्थ्यौं, म १२ वर्षको थिएँ। बेल्जियमका पादरी बरट्रान्ड सुबोल हामीलाई 'ज्ञानी कसरी बन्ने' नामको पुस्तकको आधारमा 'मोरल साइन्स' भन्ने विषय पढाउनुहुन्थ्यो। फादर सुबोलले हामीलाई 'ज्ञानी हुनुपर्छ' भनेर सीधा कहिल्यै भन्नु भएन, बरु आफ्नै सरल र मिलनसार व्यक्तित्वलाई नै उदाहरण बनाएर ज्ञानी हुन नै सिकाउनुभयो। उहाँले त्यसवेला हाम्रो कमलो मनमा गहिरो प्रभाव पर्ने गरी सिकाएको कुरा अहिलेसम्म म सम्झ्न्छुः 'आफूभन्दा कमजोरलाई मद्दत गर्नू, सबैसँग हाँसीखुसी व्यवहार गर्नू, कहिल्यै नरिसाउनू, सधैँ सकारात्मक विचार राख्नू, प्रकृति र वातावरणको रक्षा गर्नू, आफ्नो सुन्दर देशलाई समृद्ध बनाउन लाग्नू तर अरू माथि टेकेर र थिचेर अथवा वातावरणलाई बिगारेर हैन।'
सुबोल गुरुले यी मूल्यमान्यताहरूलाई धर्मको दृष्टिले कहिल्यै हेर्नुभएन। आफैँ धर्मगुरु भए पनि क्राइस्टले भनेको हुनाले यी कुराहरू हामीले मान्नुपर्छ भन्नुभएन। उहाँले येशुको नाम कहिल्यै लिनुभएन हाम्रो अगाडि। उहाँले हामीलाई जे सिकाउनुभयो त्यो सबै आधारभूत मानवतामा आधारित थियो। उहाँले धर्मबाट भन्दा अध्यात्मबाट संसार हेर्न सिकाउनुभयो।
म फादर सुबोलको कोठानिरको चौरमा उहाँको मौरीपालन हेर्न जान्थें, उहाँले बनाएको सानो वायोग्यासको उपकरण एकदमै घत लाग्थ्योः गोबरबाट नीलो र धुवाँ नआउने आगो निकालेको देखेर। फादर सुबोलसँग हामी लेले, नारायणथान, किट्नी, फूल्चोकीको पदयात्रा गर्थ्यौं। नेपालमा औपचारिक रूपले भित्रिनुभन्दा धेरै पहिले नै उहाँले हामीलाई सुधारिएको चुलो, लघु जलविद्युत्, मकै पिँध्ने मात्रै होइन कि बिजुली पनि निकाल्न सक्ने घट्ट जस्ता कुरा देखाइसक्नुभएको थियो। उहाँ हामीलाई जङ्गलको बाटो हिँडेका वेला जडीबुटीको बारेमा बताउनुहुुन्थ्यो। वनको इको–सिष्टममा हरेक जीवाणुको आफ्नो भूमिका हुन्छ र यसले वातावरणीय सन्तुलन ल्याउँछ भन्ने कुरा मैले १२―१३ वर्षकै उमेरमा जानेको थिएँ। तर यो ज्ञान मैले कक्षामा बसेर किताबहरू पढेर हैन, गुरुसँग भावरको लेकको वनजङ्गल घुमेर सिकेको थिएँ।
फूल्चोकीको ३,१०० मिटरको उचाइबाट सुबोल गुरु उत्तरतिर लहरै विराजमान हिमालहरूको परिचय दिनुहुन्थ्यो। हाम्रो देशका पहाडहरू हामीलाई नै चिनाइदिनुहुन्थ्यो। त्यो उमेरमै मलाई धौलागिरि, अन्नपूर्ण, हिमालचुली, गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशङ्कर, नुम्बुरको आकार; ती शिखरहरूको उचाइ र त्यहाँ बग्ने खोलानालाहरू कण्ठ थिए। नेपालको भूगोल मैले किताबबाट पछि मात्रै सिकेँ, त्योभन्दा धेरै पहिले गुरुको आँखाबाट देखेँ र जानेँ।
जीव–विज्ञान, भूगर्भ–विज्ञान, समाजशास्त्र, उपयुक्त प्रविधि र 'इकोलोजी'प्रतिको मेरो रुचि र ज्ञान ती पहाडहरूको पदयात्रा र सुबोल गुरुले वायोग्यास बालेर खुवाएको चियाबाटै आएको हो। विज्ञान मात्रै होइन, समाजमा बस्न, गुन लगाउन, एउटा नमुना नागरिक बन्न के–के गर्नुपर्छ भन्ने कुरा उहाँले अर्ति दिएर, प्रवचन गरेर अथवा घोकाएर नभई आफ्नै व्यवहारबाटै सिकाउनुभयो। बाँच र बाँच्न देऊ, आफ्नो स्वतन्त्रताले अरूको स्वतन्त्रतालाई असर नपारौँ भन्ने भावना तथा स्वाभिमान, देशप्रेम, नेपाली हुँ भन्ने गर्व र आफ्नै देश चिन्ने प्रेरणा एउटा परदेशी गुरुले कलिलै उमेरमा ममा जागृत गराइदिनुभएको रहेछ।
स्कूलपछि म त्रि–चन्द्र कलेजमा 'जियोलोजी' र 'वायोलोजी' पढ्न गएँ। विज्ञानमा खुबै रुचि थियो। मास्टर्स गर्न नेपाल बाहिर गएँ। एमएस्सीको थेसिस गर्दा चिसो ठाउँमा कसरी वायोग्यास निकाल्ने भनेर अनुसन्धान गरेँ। युरोपका मेरा अर्का गुरुले धेरै प्रशंसा गरेका थिए मेरो वायोग्यासको नयाँ खालको डिजाइन बारे। मलाई पनि 'ए म त ठूलै वैज्ञानिक पो भएछु क्यारे' जस्तो लाग्थ्यो र आफ्नो नयाँ यन्त्रले नेपालका हिमाली भेगमा गोबरग्यास फैलाउन मद्दत गर्छ भन्ठान्थेँ।
स्कूल छाडेको १० वर्षपछि सन् १९८० मा सुबोल गुरुसँग भृकुटीमण्डपमा वायोग्यासको प्रदर्शनीमा भेट भयो। मलाई त खुसी लाग्ने नै भयो, गुरु पनि मलाई देखेर खुसी हुनुभयो। मैले मेरो नयाँ वायोग्यास उपकरणको बारेमा घमण्ड गरेर बताएँ। गुरुले मलाई स्याबासी दिनुहोला र मेरो ज्ञान एवं सीपको तारिफ गर्नुहोला भन्ठानेको थिएँ। तर उहाँले सोध्नुभयो, “कति पर्छ यो वायोग्यास बनाउन?” मैले 'करिब १० हजार डलर पर्ला' भनेँ। र, उहाँले त्यसवेला भनेको वाक्यले मलाई छानाबाट खसेजस्तै भयो। “कुन्द, दैवले यस्तो सरल र सस्तो किसिमले बनाइदिएकै कुरालाई तिमीले किन यतिको महँगो र जटिल बनाएको?”
त्यसवेला मलाई लाग्यो कि मैले गुरुबाट केही पनि सिकेको रहेनछु। वायोग्यासलाई नेपाली गाउँघरमा दाउराको विकल्प बनाउने हो र धेरै प्राङ्गारिक मल तयार गर्ने हो भने सबैभन्दा मुख्य कुरा यो प्रविधि सस्तो हुनुपर्ने थियो। मैले बनाएको डिजाइन त युरोपको लागि पनि महँगो थियो। गुरुबाट मैले अझ्ै सिक्दै थिएँ, नेपाल जस्तो मुलुकमा विज्ञान र प्रविधिको प्रयोग र व्यावहारिकताका बारेमा धेरै ध्यान दिनुपर्छ। “सानो सुन्दर हो” भन्ने कुरा बुझ्ेँ।
पछि वैज्ञानिक हुन छाडेर म पत्रकारितातिर लागेँ। कस्तो खालको पत्रकारिता गर्दा देश, समाज र वातावरण संरक्षणलाई मद्दत गर्छ भन्ने बारेमा डेटलाइन अर्थः जर्नलिजम एज इफ द प्लानेट म्याटर्ड नामक किताब पनि प्रकाशित गरँे। त्यस किताबमा र मैले अहिलेसम्म गरिरहेको पत्रकारिताको वाक्य वाक्यमा सुबोल गुरुले दिएको अर्ति, बुद्धि गाँसिएका छन् जस्तो लाग्छ मलाई। गुरु बरट्रान्ड सुबोलले सिकाएका कुराकै आधारमा म अहिले मेरा पाठक र विद्यार्थीहरूसँग सम्वाद गर्दैछु।
