कुन चाहिं पेशा सबैभन्दा बढी बदनाम छ भनेर केही वर्षअगाडि अमेरिकामा एउटा मत-सर्वेक्षण गरेका थिए रे । नैतिक हिसाबले सबैभन्दा कमजोर मानिने वकील रहेछन् । तर कानून व्यवसायीहरूपछि सबैभन्दा अलोकप्रिय पत्रकारहरू नै परे ।
शायद नेपालमा पत्रकारहरू त्यति बदनाम नै भइसकेका छैनन् होला, तर हाम्रो सामूहिक चरित्र पनि त्यति आशाजनक छ भन्न सकिंदैन । हाम्रा पाठकहरूले हामी धेरैलाई गैरजिम्मेवार, घमण्डी, अरूलाई नगन्ने, नकारात्मक सोच राख्ने र भ्रष्ट भन्न रुचाउँछन् ।
यसो किन भयो ? यसलाई कसरी बदल्ने ? पत्रकार, पत्रिका र पत्रकारिता पढाउनेले के गर्नुपर्छ ? केही चाहिं गर्नै पर्छ, किनभने हामीलाई थाहा छ, मिडिया बलियो भए मात्रै हाम्रो देशको लोकतन्त्रको जग बलियो हुन्छ । व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता एउटै सिक्काका दुई पाटा हुन् । प्रेस स्वतन्त्रता पत्रकारहरूको मात्र अधिकारको विषय होइन, हामी पत्रकारहरूले त जनताको सुसूचित हुने अधिकारलाई रक्षा मात्र गरेका हौं । हामीले त्यो अधिकार जति इमानदारी साथ पालना गर्छौं । त्यतिकै जनताको शासनलाई बलियो बनाउँछ र मिडियाकै विश्वसनीयता पनि बढ्छ । लोकतन्त्र बलियो भए मात्र विकास, न्याय र शान्तिलाई टेवा पुग्छ ।
स्वतन्त्र पत्रकारितालाई तीनतिरबाट प्रहार भएको अनुभव हामीमाझ छ । सत्ता पक्षबाट त पञ्चायतकालमा प्रजातन्त्रलाई जस्तै प्रेसमाथि पनि अङ्कुश लगाइएको थियो । तर २०४६ सालको प्रजातन्त्रको पुनबहालीपछि पनि सरकारी समाचारमाध्यम प्रोपोगाण्डाको यन्त्रको रूपमा प्रयोग भयो । राजा ज्ञानेन्द्रको १९ माघ २०६१को ‘कु’ पछि त झन् हुन्ताको मारमा परेर मिडिया ङ्याँकियो । सिपाहीहरू नै न्यूजरुमभित्र छिरेको यो नेपाली इतिहासमै पहिलो पटक होला । माओवादीहरू निर्वाचित भएर सरकारमा आउँदा पनि नेपालका राष्ट्रियस्तरका पत्रिकाहरू भौतिक कारबाहीमा परे जसरी पहिले जिल्लाका पत्रकारहरू परेका थिए ।
तर मिडियाले अर्को किसिमको सेन्सरसीप पनि भोग्नुपरेको छ, त्यो हो अत्यधिक व्यापारीकरणबाट पत्रपत्रिका, टिभी र रेडियोमा आउने विकृति । धेरै वर्षसम्मको प्रजातन्त्र र प्रेस स्वतन्त्रताको अभ्यास भएका मुलुकहरू (जस्तै भारत र अमेरिका) पनि अति-व्यापारीकरणको प्रभावबाट बचेका छैनन् । तेस्रो चुनौती भनेको सेल्फ-सेन्सरसीप हो, जुन अहिले नेपालको मिडियामा व्यापक छ भन्नु पर्छ । अहिलेको सङ्क्रमणकालमा दण्डहीनताको प्रकोप र विधिको शासन फितलो छ र राजनीतिक तरलताले सरकारविहीन अवस्था छ । यस्तो बेलामा पत्रकारहरू नै निशाना बनेका छन् । राजनीतिको अपराधीकरण र अपराधीहरूको राजनीतिकरणले गर्दा पत्रकारहरूलाई कसले मार्योर, अपहरण गर्यो, धम्क्यायो भन्न सक्ने अवस्था नहुँदा पत्रकारहरूले व्यक्तिगत सुरक्षाको लागि नै सबै तथ्य सम्प्रेषण गर्न चाहँदैनन् । पेशागत जोखिमले समाज नै ग्रस्त भएको बेला यो मिडियालाई मात्र खतरा बढेको पक्कै होइन, तर पत्रकारहरू फ्रन्टलाइनमा परेका चाहिं हुन् ।
